Shittalpati
पाल्पा जिल्ला फुटबल संघको अध्यक्षमा राणा विजयी

पाल्पा, पाल्पा जिल्ला फुटबल संघको अध्यक्षमा प्रणय विक्रम राणा विजयी भएका छन् । शुक्रबार भएको संघको अधिवेशनबाट राणा विजयी भएका हुन् । उनी निकतम् प्रतिद्वन्द्वी मनोहर थापालाई पराजित गर्दै विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कूल १५ मत खसेको थियो । जसमा राणाले ९ मत प्राप्त गरेका थिए भने थापाले ५ मत पाएका हुन । एक मत भने बदर भएको छ । नवनिर्वाचित अध्यक्ष राणाले फुटबलको विकासका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले खेलाडी उत्पादन, प्रतियोगिता आयोजनाका साथै खेलकुद सामग्री संकलनमा जोड दिने समेत बताए । संघमा आर्थिक अवस्था कमजोर भएकाले यसतर्फ पनि आफ्नो ध्यान जाने नवनिर्वाचित अध्यक्ष राणाले बताए ।

यस्तै मनोजमान लिगल, प्रज्वल उदय, कृष्ण सारु मगरले समान नौ मत पाएर संघको उपाध्यक्षमा निर्वाचित भएका छन् । अच्युत खनालले ६ मत पाएर पराजित भए । महिला सदस्यमा युकी गाहा विजय भएकी छन् । सदस्यहरुमा अनिष श्रेष्ठ, दिपेन्द्र खनाल, कृष्ण बहादुर बाकाबल, सुलभ कार्की, सुरज सारु, हरिबहादुर ज्ञवाली, दलबहादुर रास्कोटी, युवराज चिदी, अमृत बहादुर राना, सुजन थापा बिजयी भएको संघले जनाएको छ । सदस्य सबैले समान ९ मत पाएका थिए ।

अधिवेशनमा एन्फाका केन्द्रीय सहमहासचिव प्रकाश पंगेनीले कोभिडका कारण खेलकूद क्षेत्र सुस्ताए पनि भए पनि आगामी दिनमा खेल गतिविधि बढ्ने बताए। एन्फाका पूर्व केन्द्रीय सहमहासचिव सुरेश लिगलले पाल्पाको खेलकुद इतिहासलाई भुल्न नहुने र आगामी दिनमा सबैलालाई साथ लिएर अघि बढ्न सुझाव दिए । पूर्व अध्यक्ष भीमसेन कार्कीले पाल्पामा मणीमुकुन्द कपदेखि लिएर विभिन्न प्रतियोगिता आयोजना गरेको इतिहास रहेको बताए ।

निवर्तमान अध्यक्ष मनोहर थापाले सबैको सहयोगबाट नै खेलुकदका गतिविधि अगाडि बढ्ने बताए । एन्फा पाल्पाका महासचिव भरत शर्माले वार्षिक प्रतिवेदन र सहकोषाध्यक्ष अच्युत खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष करुणा काफ्ले, पाल्पा जिल्ला फुटबल संघका उपाध्यक्ष राजु महर्जन, सुरेन्द्रमान कर्माचार्य, नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव अर्याल लगायतले जिल्लाको खेलकूद विकासमा सबैले ध्यान दिनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update