Shittalpati
सक्षम खेलाडी उत्पादन गर्दै माथागढी गाउँ सरकार

हाम्रा संवददाता
पाल्पा, खेलाडी राष्ट्रका गहना हुन् । सवल, सक्षम र योग्य खेलाडी उत्पादन गर्नु स्थानीय सरकारको दायित्व हो । सो दायित्वलाई आत्मसाथ गर्दै पाल्पाको माथागढी गाउँपालिकाले स्थानीयस्तरमा सक्षम, योग्य र सवल खेलाडी उत्पादनलाई जोड दिएको छ । कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा अब्बल रुपमा काम गर्दै आएको माथागढी गाउँ सरकारले स्थानीयस्तरमा खेलाडी उत्पादनलाई समेत प्राथमितामा राखेको पाइन्छ ।

खेलकुद नीतिको तीखो अभाव र निषेधको राजनीतिका कारण स्थानीय तहमा खेल क्षेत्रको विकास हुन नसकिरहेका बेला गाउँपालिकाले खेलाडी उत्पादनलाई महत्वका साथ हेरेको छ । उसले स्थानीय क्लवहरुको समन्वयमा समय समयमा खेलकूदका कार्यक्रमहरु गर्दै आएको छ । सक्षम खेलाडी उत्पादन गरी राष्ट्रिय रुपमा प्रतिष्पर्धा गराउने उद्देश्यले गाउँ सरकारले खेलका गतिविधिरुलाई चलायमान बनाउँदै आएको जनाएको छ । राष्ट्रको पहिचान, सम्मान र गरिमा अभिवृद्धि गर्न खेलकुदको विकास अपरिहार्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश ज्ञवालीले बताए । उनले विकासका काम जस्तै खेलकूद क्षेत्रको विकासमा पालिकाले ध्यान दिएको बताए । खेलकुदमार्फत नागरिकको शारीरिक र मानसिक स्वास्थ्य, सामूहिक भावनाको विकास र अनुशासित तथा मर्यादित जीवनयापनमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे ।

गाउँ सरकारले खेलाडी उत्पादन गर्न हरेक वर्ष माथागढी कप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । गत वर्ष माथागढीको झडेवामा महिला, पुरुष भलिवल प्रतियोगिता आयोजना भएको थियो । सो प्रतियोगितामा झडेवाले उपाधि हात पारेको थियो । यस वर्ष पनि गाउँपालिकाको सहयोगमा सराई युवा क्लबको समन्वयमा माथागढी कप फुटवल प्रतियोगिता भयो । जसमा पाल्पा खहरेको भ्याली फुटबल क्लबले उपाधि हात पा¥यो । उपाधि जितेसँगै उसले नगद २ लाख, ट्रफी, मेडल पाएको छ । प्रतियोगतामा दोस्रो भएको पक्लिहवा फुटबल क्लबले नगद १ लाख, ट्रफी र मेडल पायो । माथागढी क्षेत्र खेलका लागि उर्बर भूमि भएकाले स्थानीय सरकारले बेला बेलामा सहयोग गर्नु पर्ने खेलाडीहरु बताउँछन् । यहाँ प्रसस्त मात्रमा खेल मैदानहरु भएकाले पनि पालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको हो । हरेक वर्ष खेलका गतिविधिहरु बढाउँदै जाने गाउँपालिकाले जनाएको छ । स्थानीयस्तरमा थुप्रै प्रतिभावान खेलाडीहरु छन् तिनीहरुको पहिचान गरी सक्षम र योग्य खेलाडी उत्पादन गरिदै जाने गाउँपालिकाका शिक्षा संयोजक गजेन्द्र पन्थीले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update