Shittalpati
गुल्मीको पेगामा भलिबलसँगै सांस्कृतिक कार्यक्रम हुँदै, तयारी तीव्र

पाल्पा,गुल्मीको मुसिकोट नगरपालिका–३ पेंगामा भलिबलसँगै सांस्कृतिक कार्यक्रम हुन लागेको छ । न्यू योङ्ग स्टार युवा क्लब पेगाले यही असोज १४, १५ र १६ गते खुला भलिबलसँगै सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।

खेल क्षेत्रको विकास र स्थानीय कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले भलिबल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम गर्न लागिएको क्वलका अध्यक्ष अशोक सोमैले बताए । उनले भने ‘स्थानीय स्तरका खेलाडीहरुको क्षमता विकास गरी राष्ट्रियस्तरसम्म पुर्‍याउनु क्लबको लक्ष्य हो, यहाँ थुप्रै खेलाडीहरु रहेका छन् तर तिनीहरुको प्रतिभालाई प्रदर्शन गर्ने अवसर कमै छ , उनीहरुको क्षमता प्रदर्शन गरी राष्ट्रियस्तरका खेलाडी उत्पादनमा टेवा पुुगोस् भन्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरेका हौं ।’ चाडपर्वका बेला बाहिर भएका खेलाडीहरु समेत गाउँफर्किने भएकाले दशैको अवसर पारेर कार्यक्रम गरिएको अध्यक्ष सोमैले बताए । उनका अनुसार स्थानीयस्तरमा रहेका कला संस्कृतिको जर्गेना गर्ने पनि क्लबको उद्देश्य रहेको छ । सोही उद्देश्य अनुरुप यहाँका कला संस्कृतिलाई उजागर गर्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको अध्यक्ष सोमैको भनाई छ ।

कार्यक्रमको तयारी तीव्र पारिएको क्लवले जनाएको छ । प्रायोजक खोज्नेदेखि प्रचार–प्रसार गर्ने कामलाई अन्तिम चरणमा पुर्‍याइएको छ । कार्यक्रमका लागि देश विदेशमा रहेका नेपालीहरुले समेत उत्साहजनक रुपमा सहयोग गरिरेका छन् ।

सोही अवसरमा नृत्य, स्लोबाइक रेस, रस्साकस्सी जस्ता प्रतियोगिताहरु हुने छन् । सांस्कृतिक कार्यक्रममा विष्णु श्रीपाली, उज्वल गिरी, अर्जुन रायमाझी, अनिल विश्वकर्मा लगायतका कलाकारहरुको प्रस्तुति रहने क्लवले जनाएको छ । भलिबल प्रतियोगितामा विजेता हुने समूहले नगद ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै उपविजेता हुनेले २० हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लवले जनाएको छ । नृत्यतर्फ प्रथम हुनेले ३ हजार, द्धितिय हुनेले २ हजार, स्लोबाइक रेस बिजेताले ३ हजार र रस्साकस्सी तर्फ लोकल भाले पुरस्कार दिइने छ ।

 

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update