Shittalpati
तानसेनमा बाघ जात्रा देखाइयो

पाल्पा, पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा देखाइएको छ । प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट देखाइने बाघ जात्रा आइतबार देखाइएको हो । सो अवसरमा तानसेनको बजारमा बाघका आकृतिसहितका किशोर तथा युवाले बाजा बजाएर बजार परिक्रमा गरेका थिए । बाघको रुपमा सिंगारिएको मान्छेलाई शिकारीहरुले घेरेको अभियनमा बाघ जात्रा देखाइन्छ ।

तानसेनमा हरेक वर्ष जस्तै यस वर्ष पनि पाल्पाली नाट्य कला साँस्कृतिक समूह तानसेन –६ बसपार्कका युवा र बालबालिकाहरुले बाघ जात्रा देखाएका हुन् । परापूर्वकालमा बाघको आतंकले तानसेनवासी आजित भएको र बाघलाई मनाउन बाघ जात्रा निकाल्ने प्रचलन रहेको जानकारहरु बताउँछन् । केही समय अघिसम्म उत्सवको रुपमा निकालिने बाघ जात्रा पछिल्लो वर्ष भने पर्व धान्नको लागि मात्र भए पनि देखाउने गरिएको छ ।

परम्परागत रुपमा मनाइंदै आइएको बाघजात्रा पछिल्ला वर्षहरुमा भने हराउँदै जान थालेपछि पुराना पुस्ताहरु भने चिन्तित छन् । उनीहरुले पुराना संस्कृति जर्गेनामा नयाँ पुस्ताले चाँसो दिनुपर्नेमा जोड दिन्छन् । जात्राको उजागर, संरक्षण तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले अहिले जनतन जात्रा देखाउने गरिएको छ । गएका दुई वर्ष कोरोना महामारीका कारण ठप्पै रहेका यहाँका जात्राहरु यस वर्ष भने छिट्टाफुट्ट देखाइएको छ । काठमाडौंपछि सबैभन्दा बढि जात्रा मनाइने सहरका रुपमा मानिने तानसेनमा जनैपूर्णिमाको दिनदेखि लगातार दश दिनसम्म विभिन्न जात्राहरु मनाउने गरिन्छ ।

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update